यात्रा पछि फर्केर हेर्दा

 

यात्रा पछि फर्केर हेर्दा



म स्कूलमा औसत भन्दा अल्लि माथिको विद्यार्थी थिएँ।  भयंकर पढेर पुरस्कार थाप्दा थाप्दा विद्यालयमा सबैले चिन्ने पनि होइन, र नपढ्ने, होमवर्क नगरी सजाय भुक्तान गर्नाकालागि कक्षा बाहिर उभिँदा फलानो भनेर सारा स्कूलले चिन्ने पनि होइन। म चुपचाप बस्ने, उस्तै परे आफ्नै व्याचका अर्को सेक्सनका साथिहरुले पनि नचिन्ने मार्काको विद्यार्थी थिएँ।  मेरो भोगाइमा स्कूलमा एकथरी विद्यार्थी हुन्छन्, केही अपवादबाहेक  उनीहरू लामो समय देखि सोही विद्यालयमा पढिरहेका हुन्छन्, कारण किन हो खै ठ्याक्कै थाहा छैन तर हाजिरी जवाफ देखि, हाइजम्प सम्म, स्कूलको र्यालिदेखी कवि गोष्ठी हुँदै विद्यालयको नयाँ भर्नाको ब्रोसर सम्म उनीहरू कै हालीमुहाली हुन्छ,र अर्को केही थरी कुख्यात भएर अफिस कोठा हाजिर हुँदा हुँदा पूरा स्कूलले चिनेको, म दुवै थरीको थिइनँ। परीक्षामा ठिकै, राम्रै नम्बरले पास हुने, कसैको तथास्तु नचाहिने, सजाय बाट बच्न गृहकार्यहरु गर्ने, बाँकी समयमा आफ्नै संसारमा रमाउने खालको। तपाईँहरुलाई लाग्ला म जस्तो औसत विधार्थीको आफ्नै संसार भन्नाले कस्तो होला? पख्नुस् है यसको लागि म थोरै मेरो पृष्ठभूमि बारे भन्छु। 

म  जन्मेको हुर्केको थलो, तत्कालीन जाजरकोट जिल्लाको सदरमुकामबाट साँघुरो बाटो मुनि बगिरहेको ठूली भेरी माथि बाँदर पनि चिप्लेर लड्छन् कि क्या हो लाग्ने भिरहरु हुँदै कतै यताउता विलम्ब नगरी हिँडेको खण्डमा दुई दिनको साँझमा पुगिन्थ्यो। सशस्त्र जनयुद्धको समय थियो, आफ्नो परिवार आफै संलग्न त थिएनौँ नै, तर युद्धको प्रभावबाट अछुतो पनि रहन सक्ने अवस्था त्यसबेला थिएन।  त्यसकै असरले भनौँ, मैले धेरै समय घर मै बिताएँ, घर मै पढेँ। साथीभाइ खेल्ने डुल्ने उस्तो भएन। युद्धको समय दुर्गम ठाउँ टेलिभिजन थिएन, पत्र पत्रिका हुने कुरा भएन्, अहिले सम्झँदा हरेक साँझ जस्तो रेडियोको एन्टेना घुमाउँदा नमस्कार, यो बी.बी.सी नेपाली सेवा हो....आज भएको दोहोरो भिडन्तमा यति जना आतङ्ककारीको मृत्यु भएको छ... भनेको आवाज सम्झना आउँछ। मनोरञ्जन, सूचनाका अरु साधन स्रोत खासै उपलब्ध थिएनन्।  अधिकांश समय विद्यालय लाइब्रेरीमा कसैले दान गरेका(सायद) अहिले  सम्झँदा बालबालिकाहरुलाई पटक्कै नसुहाउने, उस्तो गुणस्तरको पनि नभएका पुस्तकहरू र घरमा उपलब्ध किताबहरू पढेर मेरो बालकाल बित्यो, सवारी साधनमा त्यो भेगमा घोडाखच्चड प्रचुर प्रयोग हुने समय थियो त्यो। पछि शान्तिवार्ता भयो, म त्यो क्षेत्रको सुगम ठाउँको ईलाइट विद्यालयमा भर्ना भएँ, साथीहरु कार्टुन, रेस्लिङ, सिनेमाको कुरा गर्ने, मलाई आफू आफूलाई अर्कै ग्रहबाट आएको एलियन हुँ की क्या हो झै लाग्थ्यो। रुचि, कुरा, कथा, व्यथा केही नमिले पछि, उस्तो मित्रतावाला सम्बन्धहरु पनि नबन्ने रहेछन् क्यारे! म कक्षा बाहेकको समयमा कुनै साहित्यिक वा विज्ञानसम्बन्धी पुस्तक लिएर एक्लै कुनामा कुनामा बस्थेँ, घरमा पनि विद्यालयमा पनि, अरु जानेको आफूले केही थिएन।

मलाई पढ्न, नयाँ कुरा सिक्न मन पर्थ्यो, तर स्कूलको पाठ्यक्रम, केही शिक्षक बाहेक अरुको पढाउने शैलीले मलाई आकर्षित गर्न, पढाइप्रति रुचि बढाउन सकेन। सिक्न अभिप्रेरित गर्ने भन्दा पनि यो याद गर्ने त्यो कण्ठ पार्ने प्रक्रियाबाट मलाई जहिल्यै उकुसमुकुस हुन्थ्यो। मलाई विज्ञानमा जीव विज्ञान मन पर्थ्यो, वाह कति थरी थरी का बिरुवा, जनावरहरु भन्ने लाग्थ्यो। त्यस्तै किताबको अन्त्य तिर हुने ब्रह्माण्ड वाला पाठ पढ्दा जहिल्यै अचम्म लाग्थ्यो। त्यति खेर भर्खर खुलेको साइबरमा गएर, ब्रह्माण्ड अन्तरिक्ष बारे जान्ने खोज्ने कोशिस धेरै चोटि गरेको छु। अन्तरिक्षका डिजिटल तस्बिरहरु देखेर दङ्ग पर्थे। Miles to go Before I sleep कविता उत्पातै मन परेर Robert Frost को अरु कविताहरू साइबरमा गएर खोजी पढ्ने अधकल्चो कोशिस गरेको सम्झना छ। मेरा बाल्यकाल अनि किशोरकाल यसरी नै बिते। मलाई प्रथम हुने, पुरस्कार थाप्ने, अरूलाई जित्ने यस्तो कुराले कहिल्यैँ वाह गरेनन्। म अरु भन्दा फरक प्रजातिको छु क्यारे जस्तो लागेपछि, कुरा कसैसित नमिले पछि खासै तुलना गर्ने आफूलाई, प्रतिस्पर्धावाला भावना ल्याउने यस्तो सायद नहुने रहेछ क्यारे! घरमा पनि कैले यस्तो गर्नु पर्दछ, नम्बर उस्तो ल्याउनु पर्छ, फलानो यस्तो उस्तो कहिल्यै भएन, कैलेपनी कसै सित प्रतिस्पर्धा गर्ने जित्नै पर्ने खालको भाव वा दबाव थिएन, यस अर्थमा शिक्षित परिवारमा हुर्किन पाएकोमा आफूलाई भाग्यमानी सम्झिन्छु। स्कूलको अधिकाँश समय ठिकैको नम्बरले पास हुने बाहेक अरु समय आफ्नै संसारमा रमाएर बित्यो, त्यसबेलाको मेरो संसारका पात्रहरू मुना, नवयुवा, हिमाल पत्रिका, नेपाली उपन्यास र कथा संग्रहहरु थिए। 

यस्तैमा त्यसबेलाको प्रचलित चलन के थियो भने, स्कूल जता पढेपनि, एस.एल.सि परीक्षा दिन चै दुर्गमको सरकारी विद्यालय जाने, पछि सजिलो हुन्छ, दुर्गम कोटा पाइन्छ रे भन्ने भास्य थियो। मेरो घर दुर्गममै भएको र मेरो बुवा आमा दुवै दुर्गमको सरकारी विद्यालयको शिक्षकहरु भएकाले, उताबाट फाराम भरेर परीक्षा दिन उस्तो गार्हो थिएन नै, फारम भरेको पनि थिए, तर जान मन मानेन्, मैले ढिपी गरेर जान्न भने र गईन पनि। 

कारण के थियो भने मेरो बुवा आमा दुवै त्यो भेगको मानिसहरू चिन्ने जान्ने, सायद अलि सम्मान पनि पाउने शिक्षकहरु। मेरो घर भन्दा माथितिर गएपछी, मेडमको छोरा भनेर चिन्ने, घर भन्दा तल तिर हेडसरको छोरा भनेर जान्ने। मलाई चै सधैँ मानिसहरूले मेरै आफ्नै नाम परिचयबाट चिनिदिउँन जानुन् भन्ने लाग्थ्यो, सानो हृदयमा नै मलाई मेरो आफ्नो छुट्टै अस्तित्व होस् भन्ने लाग्थ्यो।  त्यसबेलाको सबैभन्दा ठूलो सपना नै, पछि आफू ठूलो भएर आफ्नो नामले बुवा आमालाई चिनाउने हो भन्ने थियो। मलाई फर्केर गएर बुवा कै विद्यालयमा गएर परीक्षा दिन अहँ मन भएन, जति सक्छु आफैं गर्छु, कोटा सोटा मलाई चाहिँदैन भन्ने मेरा आलोकाँचो मस्तिष्कलाई लाग्यो। सल्लाह दिने मानिसहरुले पछि डाक्टर यस्तो पढ्न सजिलो हुन्छ भन्दा, मलाई डाक्टर त म बन्ने नै हैन भन्ने थियो। खासमा मैले स्कुले जीवनमा, पछि के बन्ने भनेर सोध्दा, लेख्दा सबैथोक लेखेँ, भनेँ हुँला, जस्तो शिक्षक, लेखक, वैज्ञानिक तर डाक्टर अहँ कहिल्यै भनिनँ। 

यसको पछि कारण यस्तो थियो। एकपटक खुट्टामा पिलो आएको थियो। उपचारलाई मेरो घर नजिकैको भव्य मेडिकल कलेज गएको थिएँ। चिरेर निकाल्नु पर्ने र दुख्यो भने भन्नु नै भनेर उपचार सुरु भयो। मैले दुख्यो भनेँ, तर उपचाररत रेजिडेन्ट डाक्टर( सायद) ले गल्ल हाँस्दै दुःखिहाल्छ नि अब, भन्नुभयो।  त्यसो भन्दैगर्दा उहाँको मुखबाट चुरोटको धुवाँको तिखो गन्ध पनि आइरहेको थियो। घटना सामान्य साधारण नै थियो तर मलाई त्यही क्षणमा मेरो मानसपटलमा, यी मेरा प्रजातिका मानिसहरू होइनन्, म डाक्टर कहिल्यै बन्नेछैन भन्ने भयो। 

पछि, काठमाडौँ आइयो, ११/१२ विज्ञान लिएर पढ्न थालियो। त्यसबखत चै म भित्र केही फरक सवालहरुको जन्म हुन थाल्यो, अब आफ्नो संसार साघुँरो, केही नपुगेको झै लाग्न थाल्यो। आफ्नो अस्तित्व खोजको आवश्यकताको आभाष हुनथाल्यो, म को हुँ, मेरो जीवनको अर्थ के, लक्ष्य के, म कहाँ पुग्न यस्तरी कुदिरहेको छु खालका प्रश्नहरूले हृदयमा निरन्तर डेरा बसाउन थाले, झकझकाउन थाले। मैले त्यस खण्डमा पढेका अनि मलाई जीवनको त्यो घुम्तीमा सबैभन्दा प्रभाव पारेका पुस्तकहरू Man's Search for Meaning, Sidhartha, Autobiography of a Yogi, Steve Jobs' Biography, थिए जसबाट म औधी  प्रभावित भएको थिए।

एक मानिस भएर जन्मिसकेपछि मेरो जीवनको केही अर्थ हुन्छ कि, के समाज, जगत, मानवजाति प्रति मेरो केही जिम्मेवारी, दायित्व हुँदैन? प्रकारका अनेक प्रश्नहरू मनमा आउन थाले। म उस्तो राष्ट्रवादी मानिस होइन, जन्मिन बित्तिकै हिमाल पहाडहरू प्रथम दृश्यका रूपमा मेरो मस्तिष्कले ग्रहण गर्यो,पहिलो सुनेको भाषा नेपाली भयो, नेपाली खाना परिकारहरू जिब्रामा सबैभन्दा पहिला पुगेँ, प्यारो लाग्छ ,आफ्नो लाग्छ, राम्रो लाग्छ, तर हामी नेपाली सर्वश्रेष्ठ, हामी यस्तो हाम्रो पुर्खा उस्तो वीर गोर्खाली यस्तो गाथा मलाई खासै टेस पर्दैन।  मलाई विगतका कथाहरु भन्दा वर्तमानका व्यथाहरूले बढी सत्य शाश्वत लाग्छन्। मेरो जीवनको त्यहीँ घुम्तीमा, मैले निकै असल मानिसहरू भेट्ने चिन्ने जान्ने मौका पाएँ, उम्दा पुस्तकहरु पढ्ने अवसर पाएँ, गोविन्द के सी सर बारे जानें, सन्दूक रुइत सर बारे पढेँ, देवकोटा पढेँ, गान्धी बारे केही बुझेँ। आफ्नै केही आधारभूत विचार,धारणाहरू, सिद्धान्तहरु, मूल्य मान्यताहरू बनाउन सकेँ।

त्यसै समयमा मलाई बोध भयो, चिकित्सा पेशा नै यस्तो उपयुक्त पेशा हो मेरो लागी, जहाँ म हरेक दिन नयाँ मानिसहरू भेट्न सक्छु, कथाहरू सुन्न सक्छु, आफ्नो सिकेको ज्ञान सीपले मानिसहरुको मद्दत पनि गर्न सक्छु, मैले आफ्नो आनन्दको लागि, स्वायसुखान्तको लागि गर्ने त सङ्गीत छ, साहित्य छ, यात्राहरु छन् तर आफू जस्तै अरु मानिसलाई सेवा गर्ने पुण्य अवसर भएको, मेरो आचरण र स्वभाव सुहाउने अर्को पवित्र धर्म छैन झै लाग्यो र, मैले निर्क्योल गरें म एउटा चिकित्सक बन्छु भनेर। 


अब चिकित्सक बन्ने दुई वटा बाटोहरू थिए, पहिलो ११/१२ राम्रै श्रेणीमा पास भएकै थिए, घरमा पनि पढ्छु भनेर आँट गरिसकेपछि, आर्थिक जुटाउन नसक्ने अवस्था थिएन नै। म नागरिक दुर्गमको भएपनि आफ्नै ढिपीले एस एल सी सुगम निजी विद्यालयबाट दिएको हुँदा दुर्गम कोटाको सजिलो बाटो बन्द थियो।

आफ्नो अहंकार भनूँ वा स्वाभिमान या त अभिमान, हुन्छ नि म पनि अरु कोही भन्दा के कम हं भन्ने खालको भावना, मैले पैसा तिरेर चिकित्सक अहँ बन्दिनँ भन्ने निर्णय गरेँ।  जति समय लागोस्, जति मेहनत लागोस्, म तयार छु, म केही पाउन, लिन चिकित्सक बन्न लागेको होइन भने यत्रो भारी पैसा बुझाएर, म अरु भन्दा कमजोर छु है भनेर स्विकारेर म किन यो पवित्र पेशामा प्रवेश गरुँ भन्ने लाग्यो। अलि अलि लहड, केही घमण्ड धेरै चै म सकीहाल्छु नी भन्ने आलोकाँचो भावनाले मलाई छात्रवृत्ति नपाई चिकित्साशास्त्र पढ्दिँन, त्यो बाहेक अरु कुनै विषय पनि पढ्नेछैन गए यो नाथे जिन्दगी जाओस्,गुमाउनु के छ र! भनेर सोच्ने पो बनायो। अहिले सोच्दा आफैलाई अचम्म लाग्छ कहाँबाट आयो होला त्यो बेलाको त्यस्तो सोच, मूर्खता मिश्रित जोश भनेर! 


पढ्दै, तयारी गर्दै परीक्षा दिँदै जिन्दगीका दुई वर्ष गए, कछुवा गतिमै भएपनि म आफ्नो गन्तव्यतर्फ नजिक जाँदै थिए। छात्रवृत्ति पाईने कुनै परीक्षा नछोडी दिन्थेँ, तर नाम अहँ निस्केको थिएन, कतै २/३ नम्बर अपुग त कतै अर्धछात्रवृत्ति। मैले विभिन्न परीक्षाहरु गरी एघार वटा छात्रवृत्ति परीक्षा त्यस समयसम्म दिई सकेको थिएँ।  मलाई जसरी हुन्छ नाम निकाल्नु थियो, कति वटा परीक्षामा असफल भएँ, कति वर्ष बित्यो मेरो, साथिहरु कहाँ पुगे यस्तो सोच्ने फुर्सद नै थिएन, अजीव दिनहरू थिए ती! भूमिगत जस्तो अवस्था, सामाजिक सञ्जाल सबै बन्द, कहिले कहीँ मन्दिर गयो, ओशो तपोवन गयो ध्यान गर्यो अरु सबै समय किताब अनि पढाई! 

त्यस्तैमा मलाई अब आफू नाम निकाल्ने वाला लक्ष्यको नजिकै पुगेको आभाष हुँदै थियो, नमूना परीक्षामा आएको नम्बरहरू त्यस्तै सङ्केत गर्थे, यो इन्ट्रान्स सिजनमा चै केही पक्का हुन्छ भन्ने थियो। त्यस्तैमा एकदिन एउटा साथीले फोन गर्यो(पहिला सुरुमा सँगै तयारी गरेको, अहिले अरु नै विषय पढिरहेको) र भन्यो "कोलकत्तामा त कस्तो खत्रा पढाइ हुनेरहेछ नि यार, मेरो साथी गएको छ, तैँले फाराम भरिस्?" मैले भने,"एउटा सिट मात्र छ यार, फारम भरेको पैसा मात्र चैट, म यतैको परीक्षाहरुको लागि तयारी गर्दैछु, त्यो परीक्षाको फर्माट नि अल्लि फरक हुन्छ त्यसले यसपालि नदिने म त(अघिल्नो पटक यसको पनि नछुटाई प्रवेश परीक्षा थिएको थिए नै)।" उसले भन्यो, "टैट, तँलाई चाहिएको चै कति वटा सिट हो र, एउटा भए पुग्दैन!" म झसङ्ग भएँ, फोन राखेँ, भोलिपल्ट अन्तिम दिन रैछ फारम भर्ने, भरे। मेहनत, कर्म, भाग्य सबैको फल भनौँ, छनौट भए। तर पछि उता भर्नामा फेरि समस्या भयो, उताको अदालतले हाम्रो यताको परीक्षाको नजिता, छनोट प्रक्रिया उस्तो नपत्याएको चाल देखायो। त्यसबेला सम्म परीक्षा देखि डराउने बानी हटिसकेको थियो र यो आफूलाई प्रमाणित गर्ने आएको एउटा मौका हो सोचेर उनीहरूकै राष्ट्रिय परीक्षा दिइयो। विदेश परीक्षार्थीहरु मध्ये सबै भन्दा धेरै नम्बर ल्याइएपछि, कलजेका त्यहाँका छात्रवृत्ति पाएका विद्यार्थीहरु को नम्बर भन्दा मेरो धेरै देखेपछि, अघिल्लो चोटि यताको परीक्षाको रिजल्ट बोकेर जाँदा मुख खुम्चाउनु भएका डिन सर यसपालि मुख उज्यालो बनाउनु भयो र भन्नुभयो 'भालो कोरेचिस्'( बङ्गाली भाषामा राम्रो गरेछौ भन्नुभएको)।

आधा दशक जस्तो कलकत्ता सहरमा बिताइयो, जिन्दगीको एउटा छुट्टै विशेष अध्याय थियो त्यो!(यसबारे छुट्टै श्रृंखलाबद्ध रूपमा लेख्ने सोचेको छु, जाँगर चल्यो अनि जोग जुर्यो भने) अब जीवनको यो नयाँ मोडमा अझ जिम्मेवारी थपिएको छ, सिक्नु अझै धेरै नै छ, आफूले चाहेको, कल्पेको, सपना देखेको 'आफू' हुन कोशिस सधैँ झै गर्नुनैछ। 

जिन्दगी भोगाइ, भावना, अनुभूति र अनुभवका कथाहरूको सँगालो नै त रहेछ आखिर! थप लेख्दै जाने नै छु अहिलेलाई यत्ति। धन्यवाद


Post a Comment

0 Comments