|नमिठा कुरुप पेन्टिङहरु|
धेरै चोटि फाट्दै सिलाउदै गर्दा
असमथर एक ढुङ्गा जस्तै बनेको
उस्को मनको क्यान्भासमा
बाक्लो सिसावाला चश्माबाट छिरेको
मधुरो प्रकाशको सहाराले
बचेखुचेको आशा र सम्भावनाहरुसित
फेरि एकपटक निखारेको ब्रसले
तम्सिएको छ उ पेन्टिङ उ पोत्न
सात रंग इन्द्रेनीलाई नै सही
उ त कालो र सेतो संगै खुशी छ
धेरै थरी बाट धेरै रंग जम्मा गरी
रङ्गीन पेन्टिङ बनाउने सपना उस्ले
रङ्गसंयोजन नमिली बनेको कुरुप पेन्टिङको
तितो अनुभवलाई साक्षी राखी
किशोरकालको सन्ध्या संगै हापिसक्यो
दुईटा रङ्गका बट्टा उस्का
एक कालो जो उस्ले,
नमिठा रातजस्तै अध्यारा अनुभवहरु र आफुले आफै संग पूरा गर्न नसकेका वाचाहरुलाई पश्च्तापको झोलमा घोली तयार पारेको छ
अनि सेतो,
अर्धमृत सपनामा नयाँ आशाहरुको रक्तसञ्चार भरी
मीठो कल्पनाको नैनी मिसाइ घोल तयार पारेको छ
अल्मलिदै केही निमेष
कहाँ बाट सुरु गर्ने
तर सोची नभ्याउँदै
ब्रस कालो रङ्गवाला डिब्बामा आफ्ना मसिना प्वाँखहरु फिजाइरहेको देख्छ
सेतोबाट सुरु गर्दा पछी केही परे सेतोलाई कालो बनाउन त सकिहाल्छु नि
तर उ हच्किन्छ,
उसलाई थाहा छ,यो पेन्टिङ
उस्ले पैले जस्तो सजिलै मेट्न सक्ने छैन
उम्किन सजिलो हुनेछैन उस्लाइ अब
आफै संग गर्नुपर्ने बाचाहरुबाट
दोष अब थुपार्न सक्नेछैन फेरी उस्ले
परिस्थिति र अस्थिर समयलाई
न त थेग्न सक्नेछ उस्को मनले
अरु थप नमिठा कुरुप पेन्टिङहरु।
#kolkataDiaries

Comments

Popular posts from this blog

यात्रा पछि फर्केर हेर्दा

||आत्मलाप||

||शब्दचित्र||